राजेश सिंह
महोत्तरी, साउन १२ गते ।
रतौली युवा क्लबको आयोजनामा, एक्सन एड नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा सञ्चालित ‘स्थानीय अधिकार कार्यक्रम–(LRP – 41)’ अन्तर्गत १३ जना दलित तथा अति विपन्न महिलाहरुलाई स्वरोजगारका लागि नगद अनुदान सहयोग प्रदान गरिएको छ।
महिलाहरूको आर्थिक सशक्तिकरण तथा आत्मनिर्भरताका लागि प्रारम्भिक पूँजी सहयोग स्वरूप यो कार्यक्रम सुरु गरिएको रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरीले बताए ।
रामगोपालपुर नगरपालिका–५ मा सम्पन्न विशेष कार्यक्रम मार्फत खाजा नास्ता पसल, किराना, सिलाई कटाई, चटपटे, बंगुर पालन, पसल, चुरीलठ्ठी फैन्सी पसल जस्ता साना व्यवसाय सञ्चालन गर्ने १३ जना महिलालाई जनही रु २०,००० देखि ४०,००० सम्मको अनुदान रकम जम्मा ४ लाख हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरूले महिलाहरूको आर्थिक आत्मनिर्भरता, स्वरोजगार सृजना र स्थानीय उत्पादन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक र प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरीको अध्यक्षता, नगरप्रमुख राम दुलार साहकाे प्रमुख अतिथि, विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, अतिथिमा वडा नं. ५ का अध्यक्ष मकेश्वर कुमार शर्मा, वडा नं. ९ का अध्यक्ष नागेश्वर प्रसाद मण्डल, स्थानीय अधिकार कार्यक्रम–(LRP – 41)’ काे प्राेग्राम काेडिनेटर : अभिनाश महताे लगायत अन्य कर्मचारीहरु, स्थानीय महिलाहरुकाे सहभागी रहेका थिए ।



















