जनकपुरधाम, साउन १३ गते ।
धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित एक डेरामा सोमबार राति भएको खुकुरी प्रहारमा १५ वर्षीया किशोरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
घटनामा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले राति करीब साढे ११ बजे खुकुरीले आक्रमण गर्दा अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृतक अञ्जली डेरामा आमासँगै बस्दै आएकी थिइन् ।

साहले अञ्जलीकी आमा आशा यादव (३५) माथि पनि खुकुरी प्रहार गरेका थिए। टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेकी आशाको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
उक्त डेरामै बस्दै आएकी मिथिला नगरपालिका–१ ढल्केवरकी १४ वर्षीया राधा यादव पनि आक्रमणमा परेकी छन्। उनको दाहिने हात र खुट्टामा गहिरो चोट लागेको छ।
घटनापछि रामबाबु साह फरार छन् । प्रहरीका अनुसार, उनी यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगिसकेका थिए। अहिले उनको खोजी र घटनाको विस्तृत अनुसन्धान जारी छ ।

