पवन प्रसाद साह
बिरगंज, साउन १३ गते ।
बाराको प्रसौनी गाउँपालिका–३, नौतनमा यस वर्ष पनि ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको महावीर झन्डा मेला श्रावण २० र २१ गते भव्य रूपमा आयोजना हुने भएको छ ।
मेलाको तयारी तीव्र पारिएको छ भने कार्यक्रम धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको उत्सवका रूपमा प्रस्तुत गरिनेछ। स्थानीय वडास्तरमा मेलाको आयोजना गरिँदै आएको यो पर्वले वर्षौंदेखि धार्मिक एकता र परम्परागत संस्कृति जगेर्नामा सशक्त योगदान दिँदै आएको छ ।
वडा अध्यक्ष छोटेलाल प्रसाद कानुका अनुसार मेलामा नाचगान, ठकरा (पारम्परिक खेल), कुस्ती लगायतका विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् ।
दुई दिनसम्म चल्ने मेलाको उद्घाटन कार्यक्रममा संघीय सांसद किसान श्रेष्ठ प्रमुख अतिथि रहनेछन् भने मधेस प्रदेशका सांसद जितेन्द्र सोनल विशेष अतिथि र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल विशिष्ट अतिथि रहने जानकारी दिइएको छ ।
सुदूर स्थानहरूबाट आउने भक्तजनहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क खाजाको समेत व्यवस्था गरिएको अध्यक्ष कानुले बताए। उनका अनुसार, “महावीर झन्डा मेलाले नौतनको धार्मिक, सामाजिक र सांस्कृतिक पहिचान झल्काउँछ, जनसहभागिता सधैं नै उल्लेखनीय रहँदै आएको छ।”
अध्यक्ष कानुले सम्पूर्ण श्रद्धालु, युवा, महिला समूह, धार्मिक संस्था, सामाजिक अभियन्ता तथा स्थानवासीलाई सक्रिय सहभागी भएर मेलालाई सफल बनाउन अनुरोधसमेत गरेका छन् ।


