जनकपुरधाम, साउन १३ गते ।
मधेश प्रदेश सुख्खाबाट गहिरो प्रभावित भइरहँदा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले राहत तथा पुनःस्थापनाका कार्यक्रम लिएर अगाडि बढिरहेका छन्। तर, मधेश प्रदेश सरकार भने समस्यालाई नजरअन्दाज गर्दै मौन बसिरहेको छ।
नेपाल सरकारले सुख्खा प्रभावित क्षेत्र घोषणा गरेपछि एआइएनसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले राहत सहयोगका कार्यक्रम सुरु गरेका छन्। समाजकल्याण परिषद्को अनुरोधमा राहत वितरण वास क्लस्टर, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँग सहकार्यमा भइरहेको छ ।

स्थानीयस्तरमा राहत वितरण सुरु
प्रमिल अधिकारीका अनुसार:
सेभ द चिल्ड्रेन नेपालले सर्लाहीको ईश्वरपुरमा १० हजार लिटर पानी ५३४ घरधुरीमा वितरण गरिसकेको छ।
अक्सफामले रौतहट र सर्लाहीमा करिब ४ सय घरधुरीलाई खानेपानी उपलब्ध गराएको छ।
प्लान इन्टरनेसनल नेपालले धनुषाको सवैला नगरपालिकामा १ हजार घरधुरीलाई पानीका जार वितरण गरेको छ।
वल्र्ड भिजन नेपाल र इस्लामिक रिलिफ जस्ता संस्थाले साना सिँचाइ र डिपबोरिङ जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्।
स्थानीय अनुसन्धान र दीर्घकालीन योजना पनि अघि बढ्दै
एसएनभिले प्रदेशभर खानेपानी अवस्थाबारे अध्ययन गरिरहेको छ भने धनुषा–महोत्तरीका पाँच पालिकामा डिपबोरिङको योजना तयार पारिँदैछ। अन्य संस्थाहरू—पिपुल इन निड, एक्सन एड, गुड नेवर्स, युएमएन आदिले योजना छनोट तथा सहकार्यमा अग्रसरता देखाइरहेका छन्।
स्टार्ट फन्ड नेपाल परियोजना १० पालिकामा लागू
स्टार्ट फन्ड नेपालअन्तर्गत सञ्चालित परियोजना पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरीका १० पालिकामा ६० दिनसम्म सञ्चालन हुनेछ। ८ हजार ३ सय ५५ घरधुरी लाभान्वित हुने यो योजनाका लागि २ करोड ६० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
सरकार किन मौन?
मधेश प्रदेश सरकारले अहिलेसम्म राहत वितरणको स्पष्ट नीति, कार्यक्रम वा मन्त्रिपरिषद् बैठकसमेत बोलाएको छैन। विडम्बना त के छ भने भौतिक पूर्वाधारमा १२ अर्बभन्दा बढी बजेट छुट्याएको सरकार चुरे क्षेत्रको ड्याम, सिँचाइ र खानेपानी योजना तर्फ चुपचाप छ। यसले जनस्तरमा गम्भीर निराशा फैलाएको छ ।
जब प्रदेश सरकारले संघीय सरकारसँग राहत माग्न बाहेक केही गर्न सकेको छैन, त्यही बेला अन्तर्राष्ट्रिय संस्थाहरूले समयमै हस्तक्षेप गर्दै मधेशको सुख्खा समस्यामा राहतका किरण देखाएका छन्। अब आवश्यक छ—मधेश सरकार पनि मौनता तोडेर दीर्घकालीन समाधानतर्फ स्पष्ट नीति लिएर अघि बढोस्।

