काठमाडौं, साउन १५ गते ।
मधेश प्रदेशलाई यस वर्ष सरकारद्वारा सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। कम वर्षा, सिँचाइको अभाव र भूमिगत पानीको स्तर घट्दै जानुका पछाडि चुरे क्षेत्रको अत्यधिक दोहन प्रमुख कारण रहेको कृषि विज्ञ डा. छबि पौडेलले बताएका छन्।
उनका अनुसार चुरे क्षेत्र तराई–मधेशका जिल्लाका लागि पानीको मुख्य स्रोत हो। त्यही क्षेत्रको गिट्टी, बालुवा, काठ र वनजंगलको बिनासले गर्दा भूगर्भीय पानीको रिचार्ज प्रक्रिया अवरुद्ध भएको छ। “चुरेमा वनजंगल रह्यो भने मात्र पानी अडिएर जमिन मुनि जान सक्छ,” उनले भने, “तर अहिले चुरेको दोहनले पानीको स्रोत तलतिर सर्छ, जसले गर्दा ट्युबेल, इनार र सिँचाइका माध्यमहरू सुक्न थालेका छन्।”
सिँचाइ सुविधा देखिएजस्तो छैन
सरकारी तथ्यांकले मधेश प्रदेशमा ५० प्रतिशत सिँचाइ सुविधा रहेको देखाए पनि डा. पौडेल भन्छन्, “वास्तविकता फरक छ। ती सिँचाइ योजनाहरूले १५ प्रतिशत क्षेत्र पनि नढाक्ने अवस्था छ।”
कमला, बागमती, कोशी, नारायणी जस्ता ठूला सिँचाइ आयोजना कार्यान्वयनमा कमजोर छन् भने साना स्यालो ट्युबेलहरू पनि सुक्न थालेका छन्।

धान खेती संकटमा, वैकल्पिक बालीमा जोड
हालसम्म मधेशमा करिब ५० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। यसले आगामी महिनामा उत्पादनमा ठूलो गिरावट ल्याउने संकेत दिएको पौडेल बताउँछन्। उनले भन्नुभयो, “अब पानी पर्ने हो भने पनि बीउ बुढो भइसकेको हुन्छ, जसले उत्पादन घटाउँछ।”
त्यसैले धानको विकल्प खोज्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्। “एक केजी धान फलाउन ३ हजारदेखि ६ हजार लिटर पानी चाहिन्छ, तर मकै वा कोदो फलाउन त्यसको दशौं भाग मात्र पानी लाग्छ,” पौडेलले बताए।
उनको हिसाबले ६ हजार लिटर पानीमा १ किलो धान फल्छ भने, त्यही पानीमा १० किलो मकै वा १५ किलो कोदो फल्न सक्छ। उनले कृषिमा बाली विविधिकरण, विशेषगरी वर्षा अनुसार बाली छान्नुपर्ने सुझाव दिए।
भाते संस्कृतिमा परिवर्तन आवश्यक
कृषिविज्ञ पौडेल भन्छन्, “हामीले दिनको दुई–तीन पटक चामल खान्छौं, जसले शरीरलाई त विर्सनुहोस्, पानी स्रोतलाई पनि ठुलो दबाब दिन्छ।”
उनको सुझाव छ – एकपटक चामलको विकल्पमा रोटी, ढिँडो, मकैको खाना, मोटा अन्न सेवन गरिनु स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।
धान उत्पादन घटे जीडीपीमा असर
धान नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा झण्डै ५ प्रतिशत योगदान दिने बाली हो। यदि धान खेती घट्यो भने आर्थिक सूचकांकमै असर पर्न सक्छ। तर, समयमै कोदो, जुनेलो, मकै जस्ता बाली लगाइएमा यो असर न्यून हुन सक्छ। “यी वैकल्पिक बाली कम समयमा, कम पानीमा, बढी उत्पादन दिन्छन्,” पौडेलले भने।
उनको सुझाव छ — अब सरकार र किसान दुवैले वैकल्पिक बाली र वातावरण संरक्षणमा गम्भीरतापूर्वक लाग्नुपर्छ, नत्र मधेश मरुभूमी बन्ने खतरा छ।

