पवन प्रसाद साह
पर्सा, साउन १५ गते ।
कृषि ज्ञान केन्द्र पर्साले हालै सार्वजनिक सूचना मार्फत कृषकहरूलाई लक्षित सरकारी योजनासम्बन्धी आवेदन प्रक्रियाका बारेमा स्पष्ट स्पष्टीकरण दिएको छ। विशेष गरी आवेदन गर्न सक्ने कृषकहरूको योग्यता र आवश्यक कागजातबारे उठेका भ्रमहरूलाई चिर्दै केन्द्रले सबै कृषकहरूलाई ढुक्क हुन आग्रह गरेको छ।
केन्द्रका अनुसार पर्सा जिल्लाभित्रका सबै वर्गका कृषकहरू—साना वा ठूला—यस योजनाका लागि योग्य छन्। केही सामाजिक सञ्जाल तथा व्यक्तिहरूले योजनालाई ‘धनी बनाम गरिब’ को रूपमा चित्रण गर्न खोजेको भन्दै केन्द्रले गम्भीर आपत्ति जनाएको छ।
आवेदनका लागि आवश्यक जग्गा:
– योजनामा सहभागी हुन आफ्नै नाममा २ बिगाहा जग्गा हुनुपर्ने बाध्यता छैन।
– एक कठ्ठा जग्गा भएका कृषकहरूले पनि आवेदन दिन सक्छन्।
– यस्ता साना कृषकहरूले छिमेकी कृषकहरूसँग मिलेर समूह बनाएर (जस्तै २ कठ्ठा वा ५ कठ्ठासम्म संयुक्त सहमति) आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थाले साना, सीमांत कृषकलाई पनि सरकारी योजनाको लाभ लिन बाटो खोल्ने उद्देश्य राखेको केन्द्रले स्पष्ट पारेको छ।
केन्द्रको अपिल:
केन्द्रले सबै कृषकहरूलाई आधिकारिक सूचना र स्रोतको आधारमा मात्र निर्णय लिन आह्वान गर्दै भ्रामक प्रचारप्रसारबाट सचेत रहनुहोस् भन्ने अपिल गरेको छ।
“योजना सबैका लागि हो, भ्रम नफैलाऔं, सहभागी बनौँ” भन्ने भावनाका साथ केन्द्रले कृषकहरूलाई सहज र सरलीकृत आवेदन प्रक्रियामा सहभागी हुन निमन्त्रणा दिएको छ।
थप जानकारीको लागि कृषकहरू कृषि ज्ञान केन्द्र पर्साको कार्यालय वा आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सम्पर्क गर्न सक्नेछन्।

