काठमाडौं, साउन १५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना दिँदै सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेपछि साउन १५ को पर्व मनाउन थालेका हुन्। पशुपालनसँग गाँसिएको हाम्रो संस्कृतिमा यो पर्व विशेष अर्थ राख्दछ।”

प्रधानमन्त्री ओलीले खीरलाई नेपाली समाजको सांस्कृतिक सम्पदा र मिठासपूर्ण सामूहिकताको प्रतीकसमेत भनेका छन्। “जसरी खीर मिठो परिकार हो, त्यसैगरी यस पर्वले हाम्रो संस्कृति, सौहार्दता र एकताको मिठास बोकेको छ। शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !” उनले लेखेका छन्।
साउन १५ लाई नेपाली समाजमा दुध-दही, खीरजस्ता पदार्थ सेवन गर्ने सांस्कृतिक पर्वका रूपमा लिइन्छ। विशेषगरी रोपाइँको चटारोपछि किसानहरूले खीर खाएर विश्राम लिने चलनले यो पर्वको विशेषता थपिएको मानिन्छ।

