धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, असार २५ गते ।
भारतबाट लागुऔषध ब्राउन सुगर नेपाल भित्र्याउने प्रयासमा एक युवकलाई प्रहरीले कपिलवस्तुको कृष्णनगर नाकाबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार पक्राउ पर्ने युवक शिवराज नगरपालिका–१, बनकसबास निवासी २२ वर्षीय सुमन चुदारो रहेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार असार २४ गते साँझ करिब ४ बजेको समयमा कृष्णनगर नगरपालिका–२ स्थित यात्रु गेटमा खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका चुदारोमाथि शंका लागेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनले लगाएको बायाँ खुट्टाको चप्पलको भित्रि भागमा लुकाइछिपाइ राखिएको करिब ११० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो ।

प्रहरीका अनुसार बरामद गरिएको उक्त पदार्थ लागुऔषध ओसारपसारमा प्रयोग हुने शंकास्पद वस्तु भएकाले उनलाई तत्काल नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले पछिल्लो समय सिमा क्षेत्रमा लागुऔषध तस्करी बढेको भन्दै यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी कडा पारिएको र नियमित जाँच, निगरानी तथा नियन्त्रण अभियान तीव्र बनाइएको जनाएको छ।

