चन्दन कुमार महताे
रौतहट, साउन १८ गते ।
तराई–मधेशमा वर्षा नहुँदा उत्पन्न भएको खडेरी र सुक्खा समस्याले हजारौं किसान प्रभावित भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालले किसानको पक्षमा आवाज उठाउँदै रौतहटमा विरोध प्रदर्शन गरेको छ।
जसपा नेपाल, जिल्ला कार्य समिति रौतहटको आयोजनामा आज गौरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि व्यापक प्रदर्शन गर्दै प्रधानमन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ११ बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्कालाई बुझाइएको हो।
पूर्व–मेयरको नेतृत्वमा विशाल प्रदर्शन
बौधिमाई नगरपालिकाका पूर्व–नगरप्रमुख तथा जसपा नेपालका जिल्ला अध्यक्ष राजीव रंजन (राजु यादव) को नेतृत्वमा गरिएको प्रदर्शनमा हजारौंको संख्यामा नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “किसान विरोधी सरकार मुर्दावाद”, “सिँचाइको व्यवस्था गर”, “सुख्खा प्रभावित किसानलाई राहत दे” लगायत नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म जुलुस निकालेका थिए।

११ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो
ज्ञापनपत्रमा सिँचाइको तत्काल व्यवस्था मिलाउन, खडेरीग्रस्त क्षेत्रलाई औपचारिक रूपमा घोषणा गरी राहत प्याकेज प्रदान गर्न, उखु किसानलाई बाँकी अनुदान तुरुन्त उपलब्ध गराउन, मल–खाद्यको अभाव तत्काल अन्त्य गर्न, कृषि ऋण मिनाहा गर्न लगायतका माग समेटिएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “बोरिङमार्फत जेनतेन धान रोपिएको खेतसमेत अब पानीको अभावमा सुक्न थालेको छ। मल–खादको चरम अभावले गर्दा किसानहरू थप संकटमा छन्। संघीय तथा प्रदेश सरकारले कानमा तेल हालेर सुतेको अवस्था देखिन्छ।”
खानेपानीको समेत संकट, आन्दोलन चर्किने चेतावनी
ज्ञापनपत्रमा थप भनिएको छ कि, केही धाराहरू सुक्दै जाँदा स्थानीयवासी खानेपानीको समेत अभावमा परेका छन्। प्रदेश र संघीय सरकारले केही क्षेत्रलाई सुख्खाग्रस्त घोषित गरे तापनि व्यवहारमा राहत नपुगेको उल्लेख गरिएको छ।
जसपाले समयमै समस्या समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। प्रदर्शनमा सहभागी केन्द्रीय नेताहरूले सरकारलाई किसानको पीडा प्रती पूर्णरूपमा गम्भीर नहुनु आपत्तिजनक भएको टिप्पणी गरेका छन्।

