गाैशाला, साउन १९ गते ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको टोलीले महोत्तरीको रामगोपालपुरमा ४.६५ क्विन्टल गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा साउन १९ गते बिहान ५:४५ बजे बर्दिबासबाट प्रनानि सरोज कुमार अधिकारीको नेतृत्वमा खटिएको ब्युरो टोली र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलिले रामगोपालपुर नगरपालिका–५ स्थित रामगोपालपुर चोकमा बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा रहेको १० बोरा सेतो बोराभित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाँजाको तौल ४ क्विन्टल ६५ किलो रहेको छ।
उक्त ट्रक मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी धनबहादुर मुक्तानका छोरा २६ वर्षीय मानबहादुर मुक्तानले चलाएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय रामगोपालपुरमार्फत जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ।

