महाेत्तरी, साउन १९ गते ।
“संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नाराका साथ नेपाल कुशवाहा कल्याण समाज, उपत्यका कार्य समितिद्वारा ३४ औं स्थापना दिवस मनाउन लागेको छ । साधारण सभा तथा लवकुश जयन्ती समारोह–२०८२ को भव्य कार्यक्रम यँही साउन २४ गते काठमाडौंको त्रिवि स्मृति भवन, कीर्तिपुरमा आयोजना हुने लागेको हाे ।
कार्यक्रममा समाजको वार्षिक समीक्षा, भावी योजना प्रस्तुतिकरण सहित विविध सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरू समावेश गरिएको आयोजक समितिले जनाएको छ ।
सम्मान, पुरस्कार र सहभागिता:
यस समारोहमा देशभरबाट कुशवाहा समुदायका अग्रज, बुद्धिजीवी, युवा तथा विद्यार्थीहरूको उपस्थित रहनेछ ।
कार्यक्रममा:
एसईई र प्लस टु परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा,
कुशवाहा समुदायका शिक्षकहरू,
प्रतिभाशाली खेलाडी,
वरिष्ठ नागरिक
लाई सम्मान तथा प्रशंसा–पत्र प्रदान गरिनेछ।
यस्तै, निबन्ध प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइनेछ, जसमा कुशवाहा समुदायको सामाजिक योगदान, शिक्षाको महत्व, एकता र सशक्तिकरण जस्ता विषयवस्तुमा केन्द्रित लेखहरू प्रस्तुत गरिनेछन् ।

धार्मिक, सामाजिक तथा रक्तदान कार्यक्रम पनि समावेश
समारोहको प्रारम्भ बिहान : १० बजे विशेष पूजापाठबाट हुनेछ।
त्यसपश्चात विहान ११:०० बजेदेखि पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रम सुरु हुनेछ । कार्यक्रमको अर्को विशेष पक्ष भनेको सामूहिक रक्तदान कार्यक्रम हो, जसमा विभिन्न संघसंस्थाको सहयोगमा सहभागीहरूबाट रक्तदान संकलन गरिनेछ ।
समाजको उद्देश्य र अभियान
नेपाल कुशवाहा कल्याण समाज विगत तीन दशकभन्दा लामो समयदेखि कुशवाहा समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक उत्थान र संगठन निर्माणमा केन्द्रित हुँदै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था हो।
यस संस्थाले विगत वर्षहरूमा पनि छात्रवृत्ति वितरण, विपद् पीडित सहयोग, स्वास्थ्य शिविर आयोजना, युवा सशक्तिकरण तथा संस्कृतिक संरक्षण जस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा सहभागिताका लागि आग्रह
समाजले उक्त कार्यक्रममा काठमाडौं उपत्यका र बाहिरबाट समेत कुशवाहा समुदायका व्यक्तिहरूको उपस्थिति, सहभागिता र सहकार्यको अपेक्षा राखेको छ । आयोजक समितिका अनुसार, उक्त दिनलाई समुदायबीचको एकता, आत्म–पहिचान र गौरवको प्रतीक बनाउने लक्ष्यसहित विविध कार्यक्रम गरिनेछ।
कार्यक्रम स्थल र समय:
मिति: २०८२ साल श्रावण २४ गते
स्थान: त्रिभुवन विश्वविद्यालय स्मृति भवन, कीर्तिपुर, काठमाडौं
बिहान : १० बजे पूजा–आरम्भ,
११:०० बजेबाट पुरस्कार तथा सम्मान वितरण कार्यक्रम

