शैलेश गुप्ता
पर्सा, साउन १९ गते ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजार क्षेत्रमा चार स्थानमा डिप बोरिङ जडान गरिएको छ। खानेपानी मन्त्री माननीय प्रदीप यादवको निर्देशनमा र पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुनको विशेष पहलमा उक्त कार्य सम्पन्न गरिएको हो।
डिप बोरिङ पोखरिया अस्पतालको परिसरभित्र, आजाद मदरसा अगाडि, इलाका प्रहरी कार्यालय पोखरिया नजिकको प्रहरी बिट अगाडि र अन्य एक स्थानमा जडान गरिएको सचिव हरिन्द्र साहले जानकारी दिए ।

मन्त्री यादवद्वारा सञ्चालित “एक घर, एक धारा: सफा पानी, स्वस्थ जीवन” अभियान अन्तर्गत उक्त डिप बोरिङ जडान गरिएको हो। अभियानको उद्देश्य हरेक घरमा निःशुल्क रूपमा धाराबाट सफा र स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्नु हो।

खानेपानी मन्त्रालयको सचिवालयका अनुसार पोखरिया बजार पर्सा जिल्लाको दोस्रो प्रमुख केन्द्रका रूपमा रहेकोले यहाँका प्रमुख सेवा प्रदायक कार्यालयहरू — पोखरिया अस्पताल, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लगायत — मा आम नागरिकलाई पिउने पानीको सहज पहुँच गराउने उद्देश्यले डिप बोरिङ विस्तार गरिएको हो।

सचिव साहका अनुसार पोखरिया नगरपालिकाका वडानम्बर १ देखि १० सम्म सबै वडाका टोल र सार्वजनिक स्थानहरूमा आवश्यकतानुसार थप डिप बोरिङ जडान गरिने योजना छ। “खानेपानीको समस्या समाधान गर्दै घर-घरमा स्वच्छ पानी पुर्याउने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने ।

