राजविराज, साउन २१ गते ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा मंगलबार राति प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। तस्करी भइरहेको आशंकामा पुगेको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा मुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसहित बल प्रयोग गर्नु परेको थियो। सो क्रममा गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादव गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार झडपमा एक प्रहरी जवान पनि घाइते भएका छन्। घटनास्थलबाट तस्करीमा प्रयोग भएको आशंकामा केही कार्टुन मदिरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि केही समय तनावपूर्ण बनेको क्षेत्रको अवस्था हाल सामान्य रहेको र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।

