पवन प्रसाद साह
बिरगंज, साउन २१ गते ।
पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न एक महत्वपूर्ण सहकार्यको थालनी गरेको छ। गाउँपालिका र वीरगंज–१५, भेडियाहीमा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि.बीच बुधबार एक विशेष स्वास्थ्यसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले अब नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने छन्। यसले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई राहत दिने विश्वास गरिएको छ।
सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार प्रदान गरिने छुट यसप्रकार छ:
OPD टिकटमा: २५% छुट
सामान्य बेड चार्जमा: १५% छुट
ICU/NICU/PICU बेड चार्जमा: १६% छुट
मेजर/माइनर सर्जरीमा: ८% छुट
प्याथोलोजी परीक्षणमा: १०% छुट
भिडियो एक्स–रे, एक्स–रे, ECG, ECHO, TMT, Endoscopy मा: ७% छुट
CT Scan/MRI मा: ७% छुट
फार्मेसी (OPD) मा: १०% छुट
फार्मेसी (IPD) मा: १५% छुट
दन्त (Dental) सेवामा: ७% छुट
अध्यक्ष यादवले सम्झौता पश्चात् भने, “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले हाम्रो गाउँपालिकाका बासिन्दाहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउनेछ।”
सहकार्यको यो प्रयासले गाउँस्तरमै नागरिकहरूको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।

