पवन प्रसाद साह
बिरगंज, साउन २२ गते ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरिएको छ।
समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको सम्मान तथा विद्यार्थीद्वारा प्रस्तुत स्तनपानसम्बन्धी शैक्षिक कार्यक्रम रहेका थिए ।

कार्यक्रमको विशेष पक्षका रूपमा, मातृत्वको सम्मानस्वरूप आमाहरूलाई स्मृतिचिन्ह र तस्बिर प्रदान गरियो। साथै, स्तनपानको महत्वबारे सचेतनामूलक स्वास्थ्य शिक्षा सत्रहरू सञ्चालन गरिएको थियो, जसबाट सहभागी आमाहरू र स्वास्थ्यकर्मीहरूले उपयोगी जानकारी प्राप्त गरे ।
विद्यार्थीद्वारा प्रस्तुत नाटक, प्रस्तुति तथा जनचेतनामूलक कार्यक्रमहरूले स्तनपानप्रति सकारात्मक धारणा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेल ।

समारोहमा प्रबन्ध निर्देशक श्री सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाइरेक्टर, भाइस प्रिन्सिपल, सीआईओ, म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन कार्यक्रमले मातृत्वको सम्मान गर्दै स्तनपानलाई स्वस्थ शिशुका लागि आधारभूत अधिकारका रूपमा पुनः पुष्टि गरेको आयोजक संस्थाले जनाएको छ ।




