पवन प्रसाद साह
बिरगंज, साउन २३ गते ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झाद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सेवा लिने सबैलाई निःशुल्क औषधि वितरण गरिएको र कुल २६३ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ। साथै, ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए ।

नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन बिकास कुमार र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी उपस्थित थिए ।
त्यस्तै, गाउँपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसूति केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
विशेष क्षणमा नगर प्रमुख जयसवालले अस्पताल निर्देशक डा. अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गरे ।
आयोजक पक्षका अनुसार यस प्रकारका संयुक्त प्रयासहरूले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको छ ।


