अजय कुमार मिश्रा
कपिलवस्तु, साउन २६ गते ।
कपिलवस्तुको परिचय र विकाससँग जोडिएको वार्षिक कपिलवस्तु महोत्सव यस वर्ष पनि निरन्तरता पाउने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको नेतृत्वमा १६ औँ संस्करणको महोत्सव आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म हुने भएको अध्यक्ष राजकुमार खाँणले सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
२०६५ सालमा कपिलवस्तु व्यापार संघको पहलमा सुरु भएको महोत्सव आजसम्म जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक परिचयको प्रमुख पहिचानका रूपमा स्थापित भइसकेको छ । कोरोना महामारी, आर्थिक मन्दी र उच्च व्याजदरजस्ता चुनौतीका बाबजुद वेलफेयर सोसाइटीले महोत्सवलाई निरन्तरता दिँदै आएको छ ।

अध्यक्ष खाँणका अनुसार महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थका लागि नभई, समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो । उनले यसलाई राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा भव्य र सफल बनाउने लक्ष्य रहेको बताए ।
यसपटकको महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित प्रदर्शनीसँगै नयाँ आकर्षणका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ प्रदर्शन आयोजना हुने भएको छ । यसअघि महोत्सवमा हेलिकप्टर सयरमार्फत आकाशबाट पुष्पवर्षा जस्ता नौला कार्यक्रमसमेत गरिएको थियो ।
महोत्सवका अघिल्ला संस्करणका संयोजकमा स्व. शंकर प्रसाद आचार्य, विष्णु प्रसाद न्यौपाने, स्व. शेरबहादुर क्षेत्री, देवी पाण्डे, पदम सेन, उमानाथ, डोलकराम घिमिरे लगायत रहेका छन् । हालसम्म सर्वाधिक पटक महोत्सवको संयोजन गर्ने अध्यक्ष खाँण यसपटक पनि नेतृत्वमा छन् ।

