जनकपुरधाम, साउन २७ गते ।
धनुषाको जनकपुरधाममा वकिलहरूले पत्रकारमाथि गरेको आक्रमण गरेको छ । जसमा आधा दर्जनभन्दा बढी पत्रकारहरु घाइते भएका छन् ।
आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय सहित आधा दर्जनभन्दा बढी पत्रकारहरु घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। अध्यक्ष बन्जारालाई शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने रायको टाउकोमा चोट पुगेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको ४ कट्ठा जग्गा कब्जा गर्न खोज्दा वकिल र पत्रकारबीच विवाद चर्किएर मंगलबार आक्रमणसम्म पुगेको हो ।
महासंघका अनुसार भूतनाथ महादेवको दक्षिणतिरको जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा २० वर्षका लागि गुठीसँग सम्झौता गरिएको हो। तर नेपाल बार एसोसिएसन जनकपुरधामले उक्त जग्गामा आफ्नो पार्किङको दाबी गर्दै साउन २१ गतेदेखि कब्जा गरेको महासंघको आरोप छ ।
अध्यक्ष बन्जाराले कानुनी प्रक्रिया पूरा गरेर प्राप्त जग्गा कब्जा गर्नु आपत्तिजनक रहेको बताएका छन्। उनका अनुसार बारसँग मौखिक सहमति भए पनि पछिल्ला दिनमा विवाद झन् बढेको हो ।
यस विषयमा भदौ ५ गते दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ। महासंघले प्रदेशको कार्यालय भवन त्यहीँ निर्माण गर्ने योजना रहेको बताएको छ ।

