धर्मेन्द्र कुमार कुर्मी चौधरी
कपिलवस्तु, साउन २७ गते ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा स्थानीय पूर्वाधार सहयोग (LIPS) कार्यक्रम अन्तर्गत अनुगमन तथा अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा सडकसहितका विभिन्न पूर्वाधार योजनाको प्रगति, गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गरिएको हो।
अनुगमन टोलीले वडा नं. ६ खडैचा–खजहनी–छुटपाटीसम्म र वडा नं. ७ ढोढरी–बडसडवा हुँदै वडा नं. ५ बनगाइ–हुलाकी मार्गसम्म कालोपत्रे सडक निर्माण कार्यको अवस्था अवलोकन गरेको थियो। साथै, अधूरा सडक निर्माण तथा अन्य पूर्वाधार योजनाबारे समेत समीक्षा गरिएको थियो।
मुख्य अतिथि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले LIPS कार्यक्रमले स्थानीय पूर्वाधार विकासमा सकारात्मक प्रभाव पारेको बताए। उनका अनुसार यस वर्ष ३ करोड रुपैयाँको बजेटसहित थप १ करोड रुपैयाँ विनियोजन गरी विकास कार्यलाई अझ सशक्त बनाउने योजना छ। “स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाएर मात्र योजनाहरू अघि बढाइन्छ,” उनले भने।
उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समुदायको सक्रिय सहभागिता नै कार्यक्रम सफलताको मेरुदण्ड भएको उल्लेख गर्दै गुणस्तरीय पूर्वाधारले दीर्घकालीन रुपमा जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरिन्।
बेलायती राजदूतावासकी सामाजिक क्षेत्र सल्लाहकार कमला केशीले LIPS कार्यक्रमले ग्रामीण क्षेत्रमा दिगो समृद्धि ल्याइरहेको बताउँदै स्थानीय तहमा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार भएको धारणा राखिन्ल ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधि प्रलाद अधिकारीले योजनाको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा वडाध्यक्ष प्रेम बहादुर कलवार (वडा नं. ६) र दिनेश कुमार चौधरी (वडा नं. ७), लेखा शाखा प्रमुख हिमाकान्त आचार्य, इन्जिनियर नविन डुम्रे लगायतको सहभागिता थियो।
अनुगमन तथा अन्तरक्रिया क्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, पुल–पुलिया, स्वास्थ्य र शिक्षा क्षेत्रमा थप प्राथमिकता दिनुपर्ने माग राखे। उनीहरूले पूर्वाधारको पहुँच र गुणस्तर स्थानीय आवश्यकता र अपेक्षाअनुसार सुधार गर्नुपर्नेमा जोड दिए।


