गाैशाला, साउन २८ गते ।
देशभर मनसुन सक्रिय रहँदा आज सातै प्रदेशका थोरै ठाउँमा ठूलो र एक/दुई ठाउँमा अति ठूलो वर्षा हुने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा तराई नजिक रहेकाले हाल कोशी, मधेश र बागमती प्रदेशका थोरै भागमा तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै भागमा आज ठूलो वर्षा र केही ठाउँमा अति ठूलो वर्षा पर्न सक्छ। गएराति झापा, उदयपुर, बाँके, डोटी लगायतका जिल्लामा ठूलो पानी परेको थियो।
आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै सुदूरपश्चिम र लुम्बिनीको तराईका थोरै भागमा ठूलोदेखि अति ठूलो वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी किनार, डुबान र पहिरो सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद् गोविन्द झाले भोलि र पर्सि आजभन्दा कम वर्षा हुने अनुमान गरिएको जानकारी दिनुभयो।

