धर्मेन्द्र कुमार कुर्मी चौधरी
कपिलवस्तु, साउन २८ गते । कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हर्दौना गाउँलाई बाढी र नदी कटानको जोखिमबाट जोगाउन यस वर्ष २७६ मिटर लम्बाइको अस्थायी तटबन्ध निर्माण गरिएको छ।
गत वर्ष ठुलो बाढी नआए पनि बाणगंगा नदीले विभिन्न स्थानमा कटान गरेपछि जोखिमपूर्ण क्षेत्रमा यो तटबन्ध बनाइएको हो। गत वर्ष पनि सोही आसपासमा १७० मिटर लम्बाइको अस्थायी तटबन्ध निर्माण गरिएको थियो।
जनता तटबन्ध कार्यक्रमअन्तर्गत आरसिसी प्रकुपाइन प्रविधि प्रयोग गरेर तटबन्ध निर्माण गरिएको प्रमुख शम्भु पण्डितले जानकारी दिए। निर्माण कार्यमा वडा नम्बर १० र नगरपालिका दुवैको सहयोग रहेको उनले बताए। बोरा राख्ने काम समेत वडा र पालिकाको सहयोगमा सम्पन्न भएको हो।
वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीका अनुसार, अन्य केही स्थानमा पनि नदीले कटान गरिरहेको छ। गत वर्ष आएको बाढीले गाउँका दुई घर समेत बगाएको उनले स्मरण गरे। उनले अस्थायी तटबन्धले तत्कालका लागि बस्तीलाई जोगाए पनि स्थायी समाधान नभए हर्दौना गाउँलाई दीर्घकालीन रुपमा सुरक्षित राख्न कठिन हुने बताए ।
हर्दौनाका स्थानीय रमेश बहादुर सिंहले पनि अस्थायी तटबन्धका कारण गाउँ केही समयका लागि सुरक्षित भएको अनुभव सुनाए ।

