रंजित चौरसिया
बिरगंज, साउन २९ गते ।
अल्ट्रा अभियान डिजिटल वर्ल्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर्णवाललाई पर्सा प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। कृष्ण कुशवाहाको जाहेरीका आधारमा पक्राउ परेका वर्णवालले अनलाइन व्यापार, नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीको नाममा लाखौं असुल गरेको आरोप छ।
वर्णवालले काटेको २२ लाखको चेक फाइनान्समा भुक्तानी गर्न जाँदा खाता बन्द पाइएको थियो। उनले अल्ट्रा अभियानमार्फत हजारौंलाई चिठ्ठा खेलाएर करोडौं रकम असुली विभिन्न व्यवसायमा लगानी गर्दै आएको खुलासा भएको छ।
अभियानको एसी प्रोजेक्ट मार्फत ६,९९९ सदस्यबाट मासिक रु. २२५० उठाइ १ करोड ५७ लाखभन्दा बढी रकम संकलन भइरहेको प्रहरीले जनाएको छ। साझेदार सञ्चालक ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह भने अझै पक्राउ परेका छैनन् ।
पर्सा प्रहरी प्रशासनले कार्यालय बन्द गराई पीडितलाई रकम फिर्ता गराउने कदम नचालेको भन्दै आलोचना भइरहेको छ। गत वर्ष चितवनमा यिनै सञ्चालकहरू चिठ्ठा खेलाउँदै पक्राउ परेका थिए, तर हाल पर्सामा खुलेआम गतिविधि जारी छ ।

