राजेश सिंह
गाैशाला, साउन ३० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको रघुनाथपुरमा कालाेपत्रे सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा उनले सोनमा गाउँपालिका–३ अन्तर्गत रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक खण्डको शिलान्यास गरेका हुन् ।
विश्व बैङ्कको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रा.लिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा भ्याट सहितको बजेटमा २०८३ चैत्र ११ गते सम्म सडक निर्माण गर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले बताउनुभयो ।
मधेश प्रदेशमा २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने गरी सञ्चालन हुन लागेको योजनाअन्तर्गत रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर निर्माण हुन लागेको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले जानकारी दिए।
यस सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आवागमनमा सहजता हुने र ग्रामीण क्षेत्रको आर्थिक–सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

