काठमाडौं, साउन ३० गते ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरणका विषयमा जाजरकोट र रुकुम (पश्चिम) का स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञ र अन्य सरोकारवालासँग विशेष छलफल गरिएको छ।
विस्तृत क्षति आकलन (DDA) बाट प्राप्त तथ्याङ्कअनुसार, जाजरकोट–रुकुम (पश्चिम) मा आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये ४ प्रतिशत अर्थात् ३ हजार ३३९ घर प्रबलीकरणयोग्य रहेको पाइएको छ। छलफल कार्यक्रममा यसै तथ्याङ्कका आधारमा प्रबलीकरणका प्राविधिक पक्षलाई मुख्य एजेन्डा बनाइएको थियो।
कार्यक्रममा प्रा. जिवराज पोखरेल, डा. प्रेमनाथ मास्के, डा. रमेश गुरागाईं, डा. हरिराम पराजुली तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा–माटोका घरहरूको प्रबलीकरण विधि र नेपालका अनुभवबारे प्रस्तुति दिएका थिए।
शहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन) का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रबलीकरणसम्बन्धी विद्यमान नीति र कार्यविधिबारे जानकारी प्रस्तुत गरे।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी. तथा स्थानीय तहका प्रतिनिधिहरूले विस्तृत क्षति आकलनमा छुटेकाहरुलाई समेत समावेश गर्नुपर्ने सुझाव दिएका थिए।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई. अर्जुन कुमार बमले विस्तृत क्षति आकलनका नतिजाबारे विस्तृत जानकारी दिएका थिए ।

