धनबिर महताे
गाैशाला, साउन ३० गते ।
महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा नव जीवन साना किसान कृषि सहकारी संस्थाले दुध संकलन केन्द्रसहितको डेरी सञ्चालनमा ल्याएको छ । सहकारीले विश्व बैंकको आर्थिक सहयोगमा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित रिड आयोजना र आर्थिक कोरिडोरको सहकार्यमा डेरी स्थापना गरेको हो ।
डेरीको उद्घाटन मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले दुधको फ्याट नापेर गरे। कार्यक्रममा संस्थाका अध्यक्ष रामरतन रायले किसानको दुध उचित मूल्यमा संकलन र समयमै भुक्तानी गर्नु संस्थाको मुख्य उद्देश्य भएको बताए ।
माओवादी केन्द्रका केन्द्रीय नेता सूर्यनारायण साहले डेरी किसानको आर्थिक उपलब्धिका लागि महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै सहुलियतमा सामग्री वितरण र नयाँ योजनाहरू ल्याइने जानकारी दिए। उनले स्मरण गरे कि यसअघि संस्थाले किसानलाई ७७ वटा भैंसी वितरण गरिसकेको छ ।
आर्थिक कोरिडोर बर्दिवासका प्रमुख राजेश साहले भैंसी वितरण र दुध संकलनमार्फत किसानलाई स्थायी आम्दानीको स्रोत विकास गर्न सहकारी सक्षम भएको बताए ।
संस्थाका सल्लाहकार डा. सुरेन्द्र यादवले शहरको पैसा गाउँमा ल्याउन र देशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन यस्ता दिगो व्यवसाय आवश्यक रहेको धारणा व्यक्त गरे ।
पूर्व मन्त्री साहले नयाँ फ्याट नाप्ने उपकरणको प्रयोगले किसानलाई ठगीबाट जोगाउने र बिचौलियाको अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले ३६ प्रतिशत ब्याजदरको अन्त्य गर्दै सहकारीलाई रिसोर्स सेन्टरको रूपमा विस्तार गर्नु सकारात्मक कदम भएको बताए ।
यो डेरीले किसानको दुधलाई समयमै उचित मूल्यमा खरिद गर्ने, फ्याटको आधारमा मूल्य निर्धारण गर्ने र गाउँमै आम्दानीका अवसर सृजना गर्ने अपेक्षा गरिएको छ ।

