जनकपुरधाम, भदौ १ गते ।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पत्रकारमाथि भएको आक्रमणका दोषीलाई कारबाही गर्न माग गर्दै पत्रकारहरूले आइतबार धनुषामा धर्ना दिएका छन्।
गुठ्ठी संस्थानले राममन्दिर गुठ्ठी अन्तर्गतको कित्ता नम्बर ६५, चार कठ्ठा क्षेत्रफलको जग्गा २० वर्षका लागि महासंघलाई लिजमा दिएको थियो। सोही जग्गालाई लिएर विवाद उत्पन्न भएको र त्यसै क्रममा गत साउन २७ गते नेपाल बार एशोसिएशन, जनकपुरका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए।
आक्रमणमा परेर महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय, अनिल कुमार निराला र विनिता यादव घाइते भएका थिए।
दोषी वकिलमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतबार बिहान ११ देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले शान्तिपूर्ण धर्ना दिएका हुन्।
महासंघ धनुषाका अध्यक्ष पुरन साहले आक्रमणकारीलाई प्रहरी प्रशासनले संरक्षण गरेको आरोप लगाउँदै भने, “हाम्रा साथीहरू घाइते भए, किटानी जाहेरी दिएपनि प्रहरीले कारबाही गरेन। हामी धर्नामा बस्न बाध्य भयौं।”
महासंघका प्रदेश अध्यक्ष बन्जाराले संयमता अपनाइए पनि प्रशासन उदासीन रहिरहे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।
महासचिव शैलेन्द्र महतोले दोषी पहिचान भइसके पनि पक्राउ नगरिएको भन्दै कारबाहीका लागि दबाबमूलक कार्यक्रम अघि सारिएको जानकारी दिएका छन् ।

