चितवन, भदौ १ गते ।
चितवनका महिला शिक्षकले तीज गीतमार्फत सरकारले शिक्षा ऐन छिटो ल्याउनुपर्ने माग गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन, महिला विभागले आयोजना गरेको तीज गीत प्रतियोगितामा सहभागी महिला शिक्षकहरूले शिक्षा ऐन ल्याउन ढिलाइ नगर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार सरकारसँग २९ दिनसम्मको आन्दोलनपछि शिक्षा ऐन ल्याउने सहमति भए पनि अझैसम्म संसद्मा टेबल नगरिएको भन्दै चाँडो ऐन ल्याउन आग्रह गरिएको हो ।
सातवटै पालिकाबाट आएका महिला शिक्षक समूहले प्रस्तुत गरेका गीतमार्फत बालविकास र राहत शिक्षक बढी महिला भएकाले उनीहरूलाई विभेद गरिएको गुनासो व्यक्त गरे। संघीय, स्थानीय तह र विद्यालयले फरक व्यवहार गर्ने गरेको उनीहरूको आरोप छ ।
कार्यक्रममा सहभागीले शिक्षक संगठन र महासंघ पनि इमान्दार नभएको, स्वार्थ केन्द्रित भएर शिक्षा ऐन बनाउन सक्रिय रहेको टिप्पणी गरेका थिए। निजामती कर्मचारी र शिक्षकबीचको विभेद हटाउने गरी ऐन बनाउनुपर्ने मागसमेत राखिएको थियो।
प्रतियोगितामा राप्ती नगरपालिकाको समूह प्रथम, रत्ननगर दोस्रो, इच्छाकामना तेस्रो र माडी नगरपालिका चौथो भएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य पार्वती रावलले सरकारले विद्यालयका शिक्षक र कर्मचारीको समस्या दीर्घकालीन समाधान हुनेगरी शिक्षा ऐन संसद्मा चाँडै लैजाने तयारी गरेको बताइन्।

