जनकपुरधाम, भदौ ५ गते ।
जसपा नेपालले आफ्नो अध्यक्ष उपेन्द्र यादवलाई गौर काण्डमा फसाउन सरकार सक्रिय रहेको आरोप लगाउँदै सुरु गरेको विरोध आन्दोलन चौथौ दिनमा प्रवेश गरेको छ। नेता–कार्यकर्ताले बिहीबार पनि काठमाडौंदेखि मधेशका विभिन्न जिल्लासम्म प्रदर्शन गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।
सर्वोच्च अदालतले गौर काण्डमा छानबिन गर्न परमादेश जारी गरेपछि जसपाका नेता–कार्यकर्ताहरू आक्रोशित बनेका थिए। सोही आक्रोशकै निरन्तरतामा आन्दोलन चौथो दिनसम्म पनि जारी रहेको पार्टीले जनाएको छ।
यस दिन काठमाडौंमा समाजवादी महिला संघको आयोजनामा जसपा नेपालका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा कार्यकर्ताले नाराबाजी गर्दै अध्यक्ष यादवलाई फसाउने सरकारी षड्यन्त्र तत्काल रोक्न माग गरेका थिए। उनीहरूले भूमि विधेयकमा अध्यक्ष यादवले असहयोग गरेको भन्दै बदला स्वरूप सरकार आफैंले यसप्रकारको खेल खेलिरहेको आरोप लगाए।
मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलनले उग्र रूप लिएको छ। राजधानी जनकपुरधामसहित वीरगंज, सिरहा, सप्तरी लगायतका जिल्लामा जसपाका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सडकमा उत्रिएका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै न्यायिक प्रक्रियामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।
जसपा नेपालले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने र आवश्यक परे चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

