ओम प्रकाश यादव
रौतहट, भदौ ५ गते ।
गौर हत्याकाण्ड सम्बन्धी सर्वोच्च अदालतको आदेशपछि रौतहटमा आज बसेको सर्वदलीय बैठकले सर्वपक्षीय आन्दोलन गर्ने घोषणा गरेको छ।
गौर उद्योग वाणिज्य संघको सभाहलमा भएको बैठकमा जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सहभागी थिए। बैठकले संयुक्त आन्दोलनमार्फत सरकारको कदमको प्रतिवाद गर्ने निर्णय गरेको हो।
पृष्ठभूमि
२०६३ साल चैत ७ गते गौरस्थित राइस मिलमा मधेशी जनअधिकार फोरम र तत्कालीन माओवादी कार्यकर्ताबीच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो। सो घटनामा संलग्न भएको भन्दै सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न हालै आदेश दिएको छ।
यसपछि जसपा नेपालका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए। तर आजको निर्णयसँगै रौतहटमा अब सत्तापक्ष र प्रतिपक्ष दलका नेता–कार्यकर्ताले संयुक्त रूपमा सडक संघर्ष गर्ने भएका छन्।
आन्दोलनको कार्यक्रम
बैठकले आउँदो शनिबार गौरमा मसाल जुलुस निकाल्ने र आइतबार संयुक्त बृहत् शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ। साथै जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रचार–प्रसार टोली गठन गरिएको छ।
क्षेत्र नं. १ : एमाले नेता बबन सिंह, लोसपा नेता बाबुलाल साह, नेकपा (एस) का रेवन्त झा लगायतको टोली।
क्षेत्र नं. २ : कांग्रेस नेता रामचन्द्र गिरी, जसपा नेपाल रौतहटका अध्यक्ष राजु यादव, प्रदेश सांसद शोभा साह, नेता रामकिशोर यादव।
क्षेत्र नं. ३ र ४ : नेकपा (एस) का ब्रिज किशोर यादव, जसपा नेपालका अनिल यादव, जिल्ला इन्चार्ज राजकुमार दास, श्याम यादव।
नेताहरुका भनाइ
बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले राजनीतिक पूर्वाग्रही ढङ्गले अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको भन्दै आन्दोलनलाई सशक्त बनाउने बताए।
लोसपा नेता अनिल सिंहले अदालतमार्फत मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए।
त्यस्तै, नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भएको भन्दै आन्दोलनलाई थप संगठित र सशक्त बनाउनुपर्ने धारणा राखे।
गौर हत्याकाण्डमा सर्वोच्च अदालतको आदेशपछि सुरु भएको जसपा नेपालको आन्दोलन अब सर्वपक्षीय आन्दोलनमा परिणत भएको छ। यसले रौतहट मात्र नभई मधेशको राजनीतिक तापक्रमलाई पनि उचाल्ने अनुमान गरिएको छ।

