काठमाडौँ, भदौ ७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विवादित विधेयक जनविरोधी भएको आरोप लगाउँदै देशव्यापी प्रतिकार अभियान सुरु गर्ने घोषणा गरेको छ ।
जसपा नेपालले उक्त विधेयक भू-माफिया र जग्गा दलालहरूको हितमा मात्र हुने र विशेषगरी तराइ/मधेश क्षेत्रमा वनजङ्गल विनाश र मरुभूमिकरणको गम्भीर खतरा निम्त्याउने ठहर गरेको छ। पार्टीले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौ ५ गते राष्ट्रिय हित विपरीत विधेयकलाई अघि बढाएको भन्दै अस्वीकार गरेको छ ।
यसै सन्दर्भमा जसपाको केन्द्रीय सचिवालय बैठकले “भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ” भन्ने नारासहित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीले आगामी भदौ ९ देखि १५ गतेसम्म देशभर प्रदर्शन, विरोधसभा र जनजागरण कार्यक्रमहरू गर्ने जनाएको छ। जसपा नेपालले आफ्ना सबै तहका समितिहरू, पार्टी पङ्क्तिहरू तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
जसपा नेपालले भूमि अतिक्रमण रोक्ने, वनजङ्गल संरक्षण गर्ने र मधेशलाई मरुभूमिकरण हुन नदिने दृढ अठोट जनाएको छ ।

