गाैशाला, भदौ ७ गते ।
संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार भव्य जनजागरण रैली सम्पन्न भएको छ।
रैलीको नेतृत्व नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले गर्नुभयो। कार्यक्रममा पाँच वटा राजनीतिक दलका कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि, युवाहरू तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले राष्ट्रिय झण्डा, दलका झण्डा र सामाजिक चेतना जगाउने प्लेकार्डसहित नगर परिक्रमा गरेका थिए। जिल्ला समन्वय समिति, महोत्तरीको गेटबाट सुरु भएको रैली नगरका विभिन्न भाग प्रदक्षिणा गर्दै सम्पन्न भएको हो।
रैलीको उद्देश्य संघीयता, समावेशिता र सामाजिक न्यायबारे जनस्तरमा व्यापक चेतना अभिवृद्धि गर्नु रहेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा सम्बोधन गर्ने नेताहरूले बेरोजगारी, सामाजिक विभेद र संघीयताको प्रभावकारी कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै नागरिकबीच एकताको सन्देश प्रवाह गरे।
“मुस्लिम, निषाद, आदिवासी जनजाति, उत्पीडित वर्ग, जाति तथा सम्पूर्ण पिछडिएका वर्गहरू एकजुट होऔं,” भन्ने सन्देशसहित रैली सम्पन्न भएको थियो। गठबन्धनले जनजागरण अभियान अन्य जिल्लामा पनि विस्तार गर्ने जनाएको छ।





