गाैशाला, भदौ ८ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाले अध्यक्ष उपेन्द्र यादवमाथि झुटा आरोप लगाइएको भन्दै आइतबार जनकपुरधाममा ठूलो विरोध प्रदर्शन तथा जनप्रदर्शन गरेको छ ।
जनकचोकबाट शुरु भएको प्रदर्शन भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो। कार्यक्रममा हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
विरोध प्रदर्शनमा सहभागीहरूले “भूमि विधेयक फिर्ता लेउ”, “झुठा मुद्दा खारेज गर”, “मधेशमाथि षडयन्त्र बन्द गर” जस्ता नाराबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले भूमि विधेयकको विरोध गरेको झोकमा अध्यक्ष यादवलाई १८ वर्ष पुरानो गौर घटनामा फसाउन राज्य संयन्त्र सक्रिय रहेको आरोप लगाए। उनीहरूले मधेशलाई औपनिवेशिकरण गर्दै मरुभूमीकरण गर्ने षडयन्त्र भइरहेको भन्दै सरकारलाई तत्काल सचेत हुन चेतावनी दिए ।
नेताहरूले मधेशमाथिको षड्यन्त्र रोकिएन भने कडा संघर्षमा उत्रिने घोषणा समेत गरेका छन् ।





