रन्जित चौरसिया
बिरगंज, भदौ १० गते ।
पर्साकाे बिरगंजमा दर्ता भएको अल्ट्रा अभियान डिजिटल इलेक्ट्रा प्रा.लि. का सञ्चालकहरूले हजारौं सदस्यसँग करोडौं रुपैयाँ उठाएर ठगी गर्दै आएको पाइएको छ ।
अभियानको आधिकारिक प्रोपाइटर ऋषिकान्त गुप्ता भए पनि आन्तरिक साझेदारमा दिपेश वर्णवाल, सुशिल सर्राफ र भरत साह रहेको स्रोतहरू बताउँछन्। कार्यालय वीरगंजको बसपार्कस्थित त्रिशूल चौकमा भए पनि सञ्चालकहरू समय–समयमा कलैया, हेटौंडा, निजगढ, चितवनलगायतका ठाउँमा लुकीछिपी चिठ्ठा खेलाउँदै आएको प्रमाण सार्वजनिक भइसकेको छ ।
गत कात्तिक ३० गते चितवनको **रेनफोरेस्ट रिसोर्टमा चिठ्ठा कार्यक्रम सञ्चालन गर्ने क्रममा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा सञ्चालक दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफका छोरा लगायतलाई पक्राउ गरी चिठ्ठा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर पछि सञ्चालकका परिवारजनले संलग्नता नरहेको भन्दै विभिन्न मिडियालाई गुमराहमा पारेको आरोप छ।
यसअघि अभियान डिजिटल वर्ल्ड प्रा.लि. को नाममा पनि करोडौं रुपैयाँ असुली गरेर सदस्यलाई चिठ्ठामा परेका सामान नदिएको तथ्य सार्वजनिक भइसकेको छ। विवाद बढेपछि कम्पनीको नाम बदल्दै पुनः अल्ट्रा अभियान डिजिटल इलेक्ट्रा प्रा.लि. दर्ता गरिएको हो।
एसी प्रोजेक्टमार्फत ठगी
नयाँ कम्पनीमार्फत ‘एसी प्रोजेक्ट’ को नाममा ६ हजार ९९९ सदस्यहरूसँग मासिक २,२५० रुपैयाँ उठाउँदै आएको र यसरी १३ किस्तासम्म २० करोड ४७ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको तथ्य बाहिर आएको छ। पछिल्लो १३औं चिठ्ठा कार्यक्रम साउन ७ गते बारा कलैयामा सञ्चालन गरिएको थियो।
प्रहरी प्रशासनमाथि संरक्षणको आरोप
अभियानका सञ्चालकहरू चिठ्ठा खेलाएर ठगी गरिरहँदा पनि हालसम्म ठोस कारवाही नभएकोमा आम नागरिकले पर्सा प्रहरी प्रशासनमाथि संरक्षणको आरोप लगाउँदै आएका छन्। प्रहरी उपरीक्षक मिश्र पर्सामा सरुवा भएर आएपछि सञ्चालकहरूले अझ खुलेर असुली गर्न थालेको आलोचना भइरहेको छ।
रकम कहाँ लगानी ?
पिडित सदस्यहरूको रकम सञ्चालकहरूले कबाड पसल, ऋषि आदिवासी तेल, निजी कलेज र क्रिप्टोकरेन्सीमा लगानी गरेको बताइन्छ। यसमा एजेन्टहरू पनि सक्रिय सहभागी रहेका छन्। तीमध्ये घनश्याम ओझाले धेरै सदस्य भर्ना गरेर उच्च कमिसन उठाएको आरोप छ।
पीडित झन् पीडामा
चिठ्ठा ऐन विपरीत सञ्चालन भइरहेको अल्ट्रा अभियानले अहिले पनि १४औं किस्ताको असुलीका लागि आदेश जारी गरिसकेको छ। यसरी प्रहरीको अकर्मण्यता र सञ्चालकहरूको ठगीका कारण हजारौं सदस्यहरू झन् पीडामा परेको पिडितहरूको गुनासो छ।

