राजेश सिंह
गाैशाला, भदौ ११ गते ।
जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको विवादास्पद भूमि विधेयक विरुद्ध महोत्तरीको एकडारामा बुधबार साँझ विरोध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ ।
एकडारा गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले हातमा पार्टीका झण्डा र विरोधपटका सहित नाराबाजी गरेका थिए । उनीहरूले भूमि विधेयक जनताको हितमा नभई दलाल र भू–माफियाको पक्षमा ल्याइएको भन्दै तत्काल फिर्ता लिन माग गरे ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादवले भूमि विधेयकले तराई–मधेशका साधारण किसानलाई भूमिहीन बनाउने खतरा रहेको भन्दै सरकारलाई सचेत गराए । उनले भने, “यो विधेयक कार्यान्वयन भए मधेशवासी भूमिहीन बन्छन्, जंगल र सार्वजनिक जमिन दलालको हातमा पुग्छ । यसविरुद्ध हामी अन्तिम क्षणसम्म लड्नेछौं ।”
त्यस्तै, केन्द्रीय सदस्य श्याम यादव, प्रदेश समिति सदस्य दिपेन्द्र मधेसी, जिल्ला अध्यक्ष राम नरेश यादव, जिल्ला सचिव महेश यादव, पालिका अध्यक्ष दिप नारायण मण्डललगायत नेताहरुले आफ्नो धारणा राख्दै भूमि विधेयक सच्याउन वा फिर्ता लिन सरकारलाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका सयौं स्थानीयवासी, पार्टी कार्यकर्ता, किसान र बुद्धिजीवी वर्गको उल्लेखनीय सहभागिता थियो । उपस्थितहरूले पार्टीको संघर्षमा ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई अझ सशक्त बनाउन प्रतिज्ञा गरे ।
जसपाले हालै घोषणा गरेको भूमि विधेयकविरुद्धको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत महोत्तरीमा गरिएको यो प्रदर्शनलाई महत्वपूर्ण मानिएको छ । पार्टीले यसलाई निरन्तरता दिँदै गाउँ–गाउँमा जनजागरण अभियान संचालन गर्ने बताएको छ ।









