महोत्तरी, साउन १५ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले चुरे क्षेत्रको संरक्षणको नाममा ल्याइएको भूमि विधेयकलाई मधेशविरोधी भन्दै आइतबार जलेश्वरमा विरोध प्रदर्शन गरेको छ।
जसपाका नेताहरूले ओली नेतृत्वको सरकारले ल्याएको विधेयक मधेश र मधेसी समुदायको अस्तित्व मेटाउन र भूमाफियालाई फाइदा पु–याउन खोजेको आरोप लगाए।
जलेश्वरको खैरा चोकस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली नगरको मुख्य चोक हुँदै नगरपालिका चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै जसपा नेपालका महासचिव रामकुमार शर्माले भूमि विधेयकमार्फत चुरे क्षेत्र दोहन गरी मधेशलाई मरुभूमि बनाउन खोजिएको बताए।
“ओली सरकार अलोकतान्त्रिक मात्र होइन, मधेशविरोधी पनि हो,” उनले भने, “संविधान संशोधन, सुशासन र बेरोजगारी अन्त्यको वाचा गर्ने एमाले–कांग्रेस गठबन्धन अहिले मधेशको अस्तित्वमाथि प्रहार गर्दैछ।”
प्रदेश सांसद एवं जसपा नेपालकी कोषाध्यक्ष सुरिता साहले भूमि विधेयक संघीयता कमजोर पार्ने र मधेसी समुदायलाई अल्पमतमा पार्ने सरकारी प्रयास भएको आरोप लगाइन्। उनले विधेयकले प्राकृतिक स्रोतसाधन खोस्ने र अधिकार कमजोर पार्ने चेतावनी दिइन्।
त्यस्तै, जसपाका महोत्तरी जिल्ला अध्यक्ष राम नरेश रायले यो विधेयक सचिवालयस्तरमै तयार गरिएको र किसान र ग्रामीण बासिन्दाको आवाजलाई बेवास्ता गरिएको बताए। “यो लागू भए मधेशका सच्चा किसान भूमिहीन बन्छन्, जमिन र गुठीका सम्पत्ति भूमाफियाको हातमा पर्छन्,” उनले भने।
कोणसभामा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, हरिनारायण यादवलगायत नेताहरूले भूमि विधेयक मधेशविरोधी भएकाले कुनै हालतमा स्वीकार गर्न नसकिने बताए। उनीहरूले जसपा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउन गरिएको प्रयासलाई पनि सरकारी दमनको उदाहरणका रूपमा प्रस्तुत गरे।
नेताहरूले चुरे मास्ने, वन फँडानीलाई प्रोत्साहन गर्ने र मधेशको वातावरणीय सन्तुलन नष्ट गर्ने विधेयक तत्काल फिर्ता गर्न माग गर्दै संघीयता, पहिचान र समावेशी लोकतन्त्रविरुद्ध कुनै पनि कदम अस्वीकार्य हुने चेतावनी दिएका छन्।





