गाैशाला, भदौ १७ गते ।
भारतीय महावाणिज्य दूतावास विरगञ्जका प्रमुख डिएस मिनाले छोरीलाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ।
महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय (ल.च.मु.मा.वि.) मा आयोजित कार्यक्रममा बोल्दै महावाणिज्य दूत मिनाले भन्नुभयो, “एउटी छोरी पढाउनुको अर्थ पुरै परिवारलाई शिक्षित गर्नु हो।”
नेपाल भारत मैत्री युवा संघले ‘उडान कार्यक्रम’ अन्तर्गत एसईई उत्तीर्ण छात्राहरुलाई साइकिल वितरण गर्ने कार्यक्रममा प्रमुख अतिथि रहनुहुँदा उहाँले अभिभावकलाई छोरीलाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गर्नुभयो।
उहाँले शिक्षा नै समाज र देशलाई परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै भारत सरकारले नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो। मिनाले छात्राहरुलाई मन लगाएर पढ्न प्रेरित गर्दै, “यो कार्यक्रमले अन्य छात्राहरुलाई पनि अध्ययनमा उत्साहित गर्नेछ,” भन्नुभयो।
कार्यक्रमका विशेष अतिथि जलेश्वर नगरप्रमुख सुरेश साह सोनारले नगरपालिकाले शिक्षामा लगानी गरिरहेको उल्लेख गर्दै साइकिल वितरणले छात्राहरुलाई पढाइमा निरन्तरता दिन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्णा सिंहले यसअघि महेन्द्र महिला आदर्श मावि जलेश्वर र जनता परिक्षण मावि परिकौलीमा पनि साइकिल वितरण भइसकेको जानकारी दिनुभयो। सिंहका अनुसार, “साइकिल वितरण एक मात्र साधन हो, हाम्रो लक्ष्य छात्राहरुको अध्ययनमा आउने समस्याको पहिचान गरी समाधान गर्न पहल गर्नु हो।”
यस पटक ल.च.मु.मा.वि.का २०, जानकी परिक्षण मावि परिकौलीका ८ र महेन्द्र महिला आदर्श मावि जलेश्वरका १२ छात्राहरुलाई साइकिल वितरण गरिएको थियो।
नेपाल भारत मैत्री युवा संघका जिल्ला अध्यक्ष जितेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजिव कुमार झा, संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्कर, शिक्षक अवधेश ठाकुरलगायत सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो।

