पवन प्रसाद साह
बिरगंज, भदौ १७ गते ।
बिरगंजस्थित नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण बनाउन एक वर्षे सहकार्य सम्झौता भएको छ।
नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा दुवै पक्षबीच हस्ताक्षर भएको हो । सम्झौता प्रारम्भमा एक वर्षका लागि रहनेछ भने आपसी मूल्यांकनपछि यसलाई नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार क्लबका सदस्य तथा उनका प्रत्यक्ष आश्रितहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंट” को आधारमा तुरुन्त स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । साथै, नियमित रूपमा स्वास्थ्य शिविर तथा अन–साइट क्लिनिक सञ्चालन गरिने, ओपीडी टिकटदेखि बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसीसम्ममा विशेष छुट उपलब्ध गराइने प्रावधान गरिएको छ। दुवै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारीलाई गोपनीय राखिने सहमति गरिएको छ ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन, प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कन्थ र पप्पु सिंहको उपस्थिति थियो। त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जतर्फ अध्यक्ष रोट्र्याक्टर रोशनी भट्टराई, सचिव सुजल ठाकुर, चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी, सह–सचिव सौरभ पोखरेलसहित सदस्यहरू आर्यन ठाकुर, उत्तम मण्डल, सागर रेग्मी, प्रीती सुवेदी, सारोसी श्रेष्ठ र विद्या भारती उपस्थित थिए।
कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेजकी शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबसँगको सहकार्य युवाहरूमाझ स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण हुने बताउनुभयो।
त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जकी अध्यक्ष रोशनी भट्टराईले क्लबका सदस्य तथा परिवारलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले यो सम्झौता क्लबकै लागि ठूलो उपलब्धि भएको धारणा राख्नुभयो ।

