काठमाडौँ, भदौ २३ गते ।
काठमाडौँको माइतीघरबाट सुरु भएको जेनजी पुस्ता आन्दोलनमा प्रहरीले प्रयोग गरेको बल प्रयोगका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुँदा ठूलो संख्यामा मानिसको ज्यान गएको हो।
आन्दोलनका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, लाठीचार्जसँगै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीले प्रयोग गरेको बलपूर्वक कार्यवाहीकै क्रममा आन्दोलनमा सहभागी धेरैजसो युवाको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा विभिन्न अस्पतालमा निधन भएको पुष्टि भएको छ।
प्रदर्शन नियन्त्रणका क्रममा २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक जानकारी आएको छ। उनीहरूलाई ट्रमा सेन्टर, वीर अस्पताल, मेडिसिटी, नर्भिक लगायतका स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। तीमध्ये कैयौँको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
प्रदर्शनकारीहरूले रोजगार, सुशासन र राजनीतिक परिवर्तनका माग अघि सारेका थिए। उनीहरूले जेनजी पुस्ताको भविष्य सुरक्षित गर्ने माग गर्दै आन्दोलित भएका थिए। तर, आन्दोलनको रूप नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको हो।
यस घटनापछि राजधानीमा थप सुरक्षा सतर्कता बढाइएको छ। प्रमुख चोक–चौराहामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आवागमन पनि प्रभावित भएको छ।
सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। तर, आन्दोलनकारी नेताहरूले भने सरकारको ढुलमुल र कठोर व्यवहारले आन्दोलन अझ चर्किन सक्ने चेतावनी दिएका छन्।

