गाैशाला, भदौ २५ गते ।
महोत्तरीको ग्रामीण बस्ती, मुख्य राजमार्ग र शहरी क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न सेना समेत परिचालन गरिएको छ। जिल्ला सुरक्षा निकायले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्दै जनधनको थप क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गरेको छ।
देशभर भईरहेका विरोध प्रदर्शनको प्रभाव महोत्तरीमा देखिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको हो। यता, मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ कैदी फरार भएपछि थप चुनौती सिर्जना भएको र त्यसैले कर्फ्यू आवश्यक भएको प्रशासनले जनाएको छ।

बर्दिबास–गौशाला–सम्सी–औरहि–रामगोपालपुर हुँदै जलेश्वर–जनकपुर सडकखण्डमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी कडा पारेका छन्। साथै भंगहा, लोहारपट्टी, सोनमा लगायतका बस्तीमा पनि कर्फ्यू आदेश पालना गर्न प्रशासनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले कुनै पनि उच्छृंखल गतिविधि वा वातावरण भड्काउने प्रयास भए तत्काल नजिकको प्रहरी वा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गर्नुभएको छ।
आज बिहानदेखि अवस्था सामान्य देखिए पनि अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विद्युत प्राधिकरणका कर्मचारीलाई भने परिचयपत्र र पोशाकसहित मात्र आफ्नो कार्यमा निस्कन दिने व्यवस्था गरिएको छ।


