बिरगंज, भदौ २८ गते ।
काठमाडौँमा जेनजी आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली लागेर वीरगञ्ज महानगर–१२ मुर्लीका २२ वर्षीय असहाव आलम ठकुराईको मृत्यु भएपछि सिंगो बस्ती शोकमा डुबेको छ।
दुई महिनाअघि मात्र भारत विहारस्थित आदारपुरकी रोक्सिता खातुनसँग वैवाहिक बन्धनमा बाँधिएका असहावले पठाओमा काम गर्दै आएका थिए। मंगलबार यात्रुलाई लैजाने क्रममा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ।

असहावको निधनपछि आमा नजला खातुन र पत्नी रोक्सिता बारम्बार मुर्छा पर्ने गरेका छन्। “मेरो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई माया गर्ने सन्तान थियो,” आमा नजलाले आँसु झार्दै भनिन्, “भर्खरै बिहे गरेर ल्याएको बुहारीलाई विधवा बनाइयो।”
कलेज अध्ययनपछि रोजगारीका लागि काठमाडौँ पुगेका असहावलाई गोली लागेर ज्यान गुमाउनु परेको छिमेकी र आफन्तहरूले अपूरणीय क्षति भएको बताएका छन्। शुक्रबार साँझ वीरगञ्जवासीले प्रतिमाचोकमा मैनबत्ती बालेर असहावलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

