पवन प्रसाद साह
बिरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य अंगद ठाकुरले भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलन को क्रममा सहादत प्राप्त सम्पूर्ण विद्यार्थी र युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रद्धाञ्जलीसहित उनले आन्दोलनमा घाइते भएकाहरूप्रति चासो व्यक्त गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन्।
ठाकुरले लामो समयदेखि राज्यव्यवस्था जनताको चाहना विपरीत चलेको आरोप लगाउँदै भने,
> “दुई-तिहाइको अहंकार बोकेका शासकहरूले निर्दोष नागरिकलाई जन्तुसरह व्यवहार गर्दै आएका छन्। रोजगारी दिन असफल भएर युवालाई विदेशिन बाध्य बनाउने शासकहरूकै चरित्र आज आन्दोलनमार्फत प्रष्ट देखिएको छ।”
उनले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गर्ने नेताहरूमाथि आक्रोश व्यक्त गर्दै चेतावनीसमेत दिए,
> “देश बाउको बिर्ता हो भनी ठानेर गाउँ–टोलमै आउने कुकर्मीहरूलाई अब लखेट्न ढिलो गर्न हुँदैन।”
१७ हजारभन्दा बढी निर्दोष नागरिकको मृत्यु हुँदा पनि राष्ट्र सतर्क नभएको उल्लेख गर्दै ठाकुरले आन्दोलनलाई नयाँ सुरुवातका रूपमा लिन आग्रह गरे। उनका अनुसार,
> “सहादत दिने दाजुभाइ–दिदीबहिनीहरूको सपना समृद्ध नेपाल निर्माण गर्नु थियो। तर आजसम्म नेताहरूको काम केवल लुटपाटमा सीमित रह्यो।”
देश निर्माणका लागि अब शासक होइन, सेवक रोज्नुपर्नेमा उनले जोड दिँदै भने,
> “एक बोरा खादसम्म उपलब्ध गराउन नसक्ने व्यक्तिहरू हाम्रो नेता हुन सक्दैनन्। कृषि प्रधान मुलुकमा यसभन्दा ठूलो विडम्बना के हुन्छ?”
राप्रपा नेता ठाकुरले अन्त्यमा सबैलाई एकजुट भई राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न आग्रह गरेका छन्।

