राजेश सिंह
गाैशाला, असाेज २ गते ।
चुरे तथा नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले महोत्तरीको टुटेश्वरनाथ साझेदारी वनमा हालै भएको २१६ वटा रुख फँडानीप्रति गम्भीर आपत्ति जनाउँदै संलग्न दोषीहरूमाथि तत्काल कानूनी कारबाहीको माग गरेको छ।
पत्रकार समाजले बुधबार जारी गरेको विज्ञप्तिमा चुरे क्षेत्रको अनियन्त्रित दोहन, अवैध उत्खनन र वन विनाशले तराई–मधेसको जलस्रोत, कृषिजन्य उत्पादन र भुभागीय स्थिरतामा दीर्घकालीन असर पारिरहेको भन्दै यसलाई तत्काल रोक्न सरकार र सम्बन्धित निकायलाई आह्वान गरिएको छ।
समाजको चेतावनी
संस्थाका अध्यक्ष अभरेन्द्र कुमार यादवले भने, “चुरे र नदी प्रणाली मात्र भौतिक संरचना होइन, यो तराई–मधेसको जीवनशैली, संस्कृति र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो । तर पछिल्ला दिनहरूमा भू–अतिक्रमण, चरिचरण र अनियन्त्रित फँडानीका कारण पारिस्थितिक सन्तुलन नै संकटमा परेको छ।”
उनले थपे, “युवा आन्दोलनको नाममा गरिएका यस्ता अवैध गतिविधिहरूले आन्दोलनको मर्मलाई समेत क्षति पुर्याएको छ। यो क्रम तत्काल रोकिएन भने मधेसको भविष्य गम्भीर संकटमा पर्छ।”

मौनताप्रति आपत्ति
पत्रकार समाजले स्थानीय प्रशासन, वन कार्यालय र सुरक्षा निकायहरूको मौनतालाई चिन्ताजनक ठहर गर्दै माफिया र तस्करलाई संरक्षण दिने प्रवृत्ति तत्काल अन्त्य गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “टुटेश्वरनाथ साझेदारी वनमा २१६ रुख कटान भइसके पनि हप्तादिनसम्म दोषी कारबाहीको दायरामा नआउनु दुःखद हो। सरकारको लापरबाहीले भविष्यमा यस्ता घटनालाई प्रोत्साहन मात्र गर्नेछ।”
दीर्घकालीन नीति र जनसहभागिता आवश्यक
समाजले चुरेको दोहनकै कारण मधेसले विगतमा पानीको चरम सङ्कट व्यहोरेको स्मरण गराउँदै दीर्घकालीन नीति निर्माण, स्थानीय जनसहभागिता, संरक्षण अभियान र वैकल्पिक जीविकोपार्जनका उपाय अवलम्बन गर्न सुझाव दिएको छ।
यदि तत्काल प्रभावकारी कदम नचालिए, भू–क्षरण, बाढी, वन्यजन्तु संकट, भूमिगत पानीको स्रोत सुकेर जाने लगायत गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समाजले दिएको छ।























