काठमाडौं, असाेज ३ गते ।
राष्ट्रियसभाका पूर्व सदस्य तथा संघीयता विज्ञ डा. खिमलाल देवकोटाले संविधान परिमार्जन गरेर अहिलेको जनभावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले मुलुकलाई राजनीतिक अस्थिरताको खेलमैदान नबनाउन समयमै चुनावमा जानुपर्नेमा जोड दिए।
संविधान दिवसका अवसरमा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सहज बनाउन आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव दिए।
देवकोटाले पटक–पटक कांग्रेस र एमाले जस्ता ठूला दल सरकारमा नजानुपर्ने भन्दै खबरदारी गर्दै आएको स्मरण गर्दै भने, “मन्त्रालयमा मन्त्री र सचिवको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ भन्ने मेरो माग थियो, किनभने भ्रष्टाचारको जड त्यहीँ हो।”
संघीयता ल्याउनुको उद्देश्य नागरिकलाई सानो–सानो कामका लागि सिंहदरबार धाउन नपरोस् भन्ने रहेको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनमा त्रुटि भएको स्वीकारे। “संविधानले सिंहदरबारकेन्द्रित अधिकार जनताको घरदैलोमा पुर्याएको छ, तर त्यसको भावना अनुसार सरकार चलेन,” उनको भनाइ थियो।
उनले मुलुकको संविधान र कानूनले जनादेशलाई पछ्याउनुपर्ने भन्दै स्विट्जरल्याण्डको उदाहरण प्रस्तुत गरे। “स्विट्जरल्याण्ड कर्णालीभन्दा अलिक ठूलो छ, त्यहाँ २६ प्रदेश छन्, १७७ वर्षदेखि संघीयता राम्रोसँग चलिरहेको छ। हामीमा सांसद धेरै छन्। समानुपातिक प्रणाली खारेज गरी समावेशिता प्रत्यक्ष निर्वाचनमै सुनिश्चित गर्नुपर्छ,” देवकोटाले बताए।
उनका अनुसार नेपालमा सांसदलाई बढी सुविधा दिइएको छ भने राजनीति कमाई खाने माध्यम बनेको छ। “स्विट्जरल्याण्डमा सांसदले तलब सुविधा पाउँदैनन्, त्यहाँ संघमा ७ जनाको मात्रै मन्त्रिपरिषद् छ,” उनले उदाहरण दिए।
अब संविधानलाई करेक्सन गरेर वर्तमान जनभावना आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

