काठमाडौं, असोज ५ गते ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरू आइतबार दिउँसो सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै बसेका थिए। सुरक्षाकर्मीले गेटभित्र पस्न नदिएपछि केही समयसम्म उनीहरूले सडकमै विरोध जनाए।
पछि प्रहरी प्रशासनले उनीहरूलाई आफ्नो गाडीमार्फत सिंहदरबार परिसरभित्रै रहेको गृहमन्त्रालयमा पुर्याएको हो। तर, सो समयमा गृहमन्त्री मन्त्रालयमा उपस्थित नभएकाले घाइतेहरू मन्त्री कुर्दै बैठक हलमा बसेका छन् ।

आन्दोलनकारीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उद्देश्यसहित सिंहदरबार पुगेका थिए। तर प्रवेश अनुमति नपाएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए। त्यसपछि सम्झौता स्वरूप उनीहरूलाई भित्र प्रवेश गराइए पनि अन्तिममा मन्त्री उपस्थित नहुँदा उनीहरूको असन्तोष झन् बढेको छ।
धर्नामा बसेका एक घाइतेले भने, “हामी उपचार र न्यायको माग लिएर प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न आएका हौं।
युवाहरूको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको भन्दै उनीहरूले सरकारले तत्काल जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन्। आन्दोलनका घाइतेहरू अझै पनि गृहमन्त्रालयमा मन्त्री फर्कने आशामा प्रतीक्षा गरिरहेका छन्।

