गाैशाला, असोज ६ ।
दशैंको पहिलो दिन मानिने घटस्थापनासँगै सोमबारदेखि नवरात्र पर्व आरम्भ भएको छ। बिहानैदेखि घर–घरमा वैदिक विधिपूर्वक कलश स्थापना गरी दुर्गा भवानीको पूजा सुरु गरिएको छ।
नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने चलन छ। शास्त्रअनुसार शैलपुत्रीको आराधनाले दीर्घायु, रोगमुक्ति र आरोग्य प्राप्त हुने विश्वास रहिआएको छ। भक्तजनहरूले नदी, इनार वा खोलाबाट ल्याएको शुद्ध जलमा जमरा राख्दै परिवारसहित देवी पूजामा संलग्न भएका छन् ।

यसै दिनदेखि दुर्गा सप्तशती, देवीभागवत जस्ता ग्रन्थको पाठ सुरु गर्ने परम्परा छ। भक्तजनहरूले नवमीसम्म उपवास बस्दै नौ दिनसम्म नौ रूपकी दुर्गाको आराधना गर्ने गर्छन् ।
गाउँघरमा सामूहिक पूजा र भजनकीर्तन हुने चलन अझै बलियो छ भने शहरमा घरमै विधिपूर्वक पूजा गर्ने तथा बालबालिकाले दशैं खेल्ने रमाइलो सुरु भएको छ ।
आगामी दिनहरूमा क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र दशौँ दिन विजया दशमी विशेष उत्साहसहित मनाइनेछ ।

