शैलेन्द्र गुप्ता
पर्सा जिल्लाका ग्रामीण भेगमा रहेका विभिन्न शक्तिपीठ तथा दुर्गा भवानीका मन्दिरहरूमा सोमबार घटस्थापना गर्दै देवी दुर्गाको पूजा–अर्चना आरम्भ गरिएको छ। जमरा राखी दीप प्रज्वलनसँगै नवदुर्गा पूजाको औपचारिक शुरुआत गरिएको हो।
पोखरिया नगरपालिकाको वडा नं. ४ सतवरियास्थित लक्षवारमाई दुर्गा मन्दिरसहित पोखरिया बजार, बनकटवा सातोमाई देवीस्थान, सेमरबारी, लमरिया, फुलवरिया, श्रीसिया, रानीगन्ज, रहरिया, जगतपुर, मन्नपुर, बैरिया विर्ता, धोविनी गाउँपालिकाको लंगडी बजार, छिपहरमाई गाउँपालिका–४ स्थित छिपहरमाई दुर्गा मन्दिर, जगरनाथपुर गाउँपालिका तथा पकहामैनपुर गाउँपालिकाका विभिन्न स्थानमा नवदुर्गा पूजा–अर्चना सुरु गरिएको छ।

सतवरियास्थित लक्षवारमाई दुर्गा मन्दिरमा घटस्थापनादेखि विजयादशमीसम्म दैनिक पूजाआजा गर्ने परम्परा छ। धार्मिक विश्वास अनुसार यस अवधिमा देवी–देवताको आराधना गरे शरीरका कष्ट निवारण हुने र भूत–प्रेत, दु:ष्ट आत्मा तथा अध्यात्मिक छायाबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।
विशेषगरी कालरात्रिको दिन यहाँ विशेष पूजा गरिन्छ। सो दिन भूतप्रेत वा अध्यात्मिक प्रभावबाट पीडितको कष्ट हट्ने विश्वास गरिएको छ। श्रद्धालुका अनुसार सो अवसरमा देवीको “खपर” निकाल्ने चलन समेत छ। यस पूजामा सहभागी भएपछि मानसिक तथा शारीरिक पीडा कम हुने र विभिन्न दु:ख–कष्टहरू निवारण हुने जनविश्वास रहिआएको छ।

