महोत्तरी, असोज ७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य, स्वास्थ्य विभाग प्रमुख तथा संघीय सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले आज औरही नगरपालिकाको औरही बजारमा स्थानीयहरूसँग भेटघाट गरेका छन्।
बिहानैको चियासँगै भएको अनौपचारिक भेटघाटमा स्थानीय बासिन्दा, व्यापारी, बुद्धिजीवी तथा पार्टीका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा डा. यादवले हिन्दूहरूको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै सबै नेपालीमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामना गरेका थिए।
उहाँले उत्सवले आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै धर्म, संस्कृति र परम्पराले समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने बताए। साथै, आफू सधैं जनताको सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समस्याहरू समाधानका लागि निरन्तर प्रयास गर्ने आश्वासन पनि दिनुभयो।
स्थानीय सहभागीहरूले डा. यादवको भेटघाटलाई सकारात्मक रुपमा लिएको बताउँदै यस्ता अवसरहरूले नेतासँग प्रत्यक्ष संवाद गर्ने बाटो खुलेको अनुभव व्यक्त गरेका थिए।





