महोत्तरी, असोज ७ गते ।
धनुषाको लक्ष्मिनीया गाउँपालिका–७ कुमरौडा टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। रतौली युवा क्लबको सहजीकरणमा वडा अध्यक्ष गंगा साह, पालिकाका प्रतिनिधि, महिला समूहका सदस्य तथा संस्थाका कर्मचारीहरूको सक्रिय सहभागितामा आईतबार बिहान बाटो तथा टोल सरसफाइ गरिएको हो ।

यसअघि असोज ५ गते, ऋबको सहयोगमा रतौली युवा क्लबले मधेश प्रदेशका सीमांतकृत समुदायको सामाजिक–आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा मुसहर समुदायमा खानेपानी तथा सरसफाइसम्बन्धी समस्या र सरोकारवालाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। त्यही छलफलमा बनेको कार्ययोजना अनुसार असोज ७ गते सरसफाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रमपछि स्थानीय महिला समूह र समुदायका बासिन्दाले सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। साथै, खुला दिसापिसाब गर्ने तथा फोहोर जथाभावी फाल्ने व्यक्तिलाई रु. ५०० जरिवाना गर्ने निर्णय समेत गरेका छन् ।

महिला समूहकी अध्यक्ष गीता देवी सदाले रतौली युवा क्लबले समुदायलाई सचेत गराएकोमा धन्यवाद दिँदै अब आफूहरू आफ्नै नेतृत्वमा समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। वडा अध्यक्ष गंगा साहले पनि रतौली युवा क्लबले समुदायको सामाजिक र आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहको ध्यान नपुगेका तर महत्वपूर्ण विषयमा काम गरेकोमा धन्यवाद व्यक्त गरे ।

यस सरसफाइ अभियानले समुदायमा जिम्मेवारी र सहभागिताको भावना जागृत गराएको छ, जसले भविष्यमा गाउँको विकासलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।



