नरेन्द्र महतो
गाैशाला, असाेज ९ गते ।
महोत्तरी जिल्लाको गौशाला स्थित गोरु बजारलाई जिल्लाकै प्रमुख बजारका रूपमा चिनिन्छ । यहाँका ग्रामीण भेगमा किसानको संख्या बढी भएकाले खेतीपातीमा यसको विशेष महत्व रहँदै आएको छ ।
तर पछिल्ला केही वर्षयता खेतमा काम गर्ने मजदुरको कमी र आधुनिक प्रविधिको प्रयोग बढेसँगै किसानहरूले गोरु पाल्ने परम्परा घटाउँदै ट्र्याक्टर मार्फत खेत जोत्न थालेका छन्।
यद्यपि, गोरु बजारमा अहिले पनि चहलपहल कम भएको छैन। यहाँ खसी–बाख्रा, हाँस, मुर्गा–मुर्गी, भैंसी, पाडा–पाडी र गाईजस्ता पशुपक्षीको खरिद–बिक्री जोरशोरसँग भइरहेका छन् ।

व्यापारीहरूका अनुसार दशैं नजिकिँदै गर्दा विशेष गरी खसी र वोकाको माग उच्च हुने गर्दछ। दशैंमा बलि दिने परम्पराका कारण बजारमा खसी तथा वोकाको आपूर्ति बढेको उनीहरूको भनाइ छ।
यसअघि गौशाला नगरपालिका र निगौल गाईगौशालाबीच बजारको ठेक्का र बट्टा काट्ने विषयमा विवाद भई मुद्दा उच्च अदालत जनकपुरमा पुगेको थियो। सो मुद्दामा निगौल गाईगौशालाको पक्षमा फैसला भएपछि बजारलाई पुरानो स्थानबाट कृषि केन्द्र नजिक सारिएको थियो।
तर व्यापारीहरूले यस वर्ष दशैंभरका लागि फेरि पुरानै स्थानमै गोरु बजार सञ्चालन भइरहेको बताएका छन्। दशैंपछि बजार कहाँ सञ्चालन हुने भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन।

