गाैशाला, असाेज ७ गते ।
महोत्तरी गाउँपालिकाले वन हर्ट वर्ल्डवाइड नामक संस्थाको आर्थिक सहयोग र रतौली युवा क्लबको प्राविधिक सहयोगमा हातले बोक्न सकिने ग्रामीण अल्ट्रासाउन्ड मेसिन (आरओयुएसजी) प्राप्त गरेको छ ।
मंगलबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले गाउँपालिका प्रमुख दिलीप पाण्डेयलाई उक्त उपकरण हस्तान्तरण गरे ।

गाउँपालिकामा ठूला र सुविधासम्पन्न अस्पताल नहुँदा यो मेसिन ग्रामीण भेगका गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ठूलो सहयोग हुने अपेक्षा गरिएको छ । सहजै एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने भएकाले यो मेसिन अति नै उपयोगी हुने विश्वास रहेको रतौली युवा क्लबका निर्देशक चौधरीले बताए ।
पालिका अध्यक्ष पाण्डेयका अनुसार हाल मेसिन मडई स्वास्थ्य चौकीमा राखिनेछ । साथै, प्रत्येक महिनामा पालिकाअन्तर्गतका सबै स्वास्थ्य चौकीमा लैजाई गर्भवती महिलाको निःशुल्क स्वास्थ्य जाँच गरिनेछ । उनले यसले स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध गराउने बताए ।

